बिराटनगर, सिनेसुत्र – बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमा ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा जीवन सेञ्चुरीको निर्देशन छ।
सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय रहेको छ।
निर्देशक सेञ्चुरीले सिनेमाले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा बोकेको बताए। उनले भने, “‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको सिनेमा हो। नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस सिनेमाको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ।” साथै, उनले यसले नेपाल सरकारले सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने विश्वास व्यक्त गरे।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा दीपकप्रसाद घिमिरेको लगानी छ। सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर, र रामेश्वर हुमागाईंको डिओपी छ।
सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।
यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, र समालोचकहरूले हेरिसकेका छन्।