६० देशका ४०० मध्ये छानिए ९८ उत्कृष्ट सिनेमा: ‘छैटौँ कल्चरल फिल्म फेस्टिभल’ माघ १७ देखि १९ सम्म

0 Shares

सिनेसुत्र, बिराटनगर- विश्वभरिका सांस्कृतिक सिनेमा प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ। महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी सिनेमा आवेदन परेको मध्येबाट नेपालसहित ४७ देशका ९८ वटा सिनेमा महोत्सवमा चयन गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

“हामीलाई प्राप्त करिब ४०० वटा सिनेमा प्रारम्भिक सिनेमा चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा सिनेमा चयन गरेको छ। महोत्सवमा लघु सिनेमासँगै कथानक सिनेमा, वृत्तचित्र, एनिमेटेड सिनेमा लगायत महिला, बालबालिका, मानव अधिकारका सिनेमा पनि प्रतिस्पर्धामा समावेश गरिएका छन्। दुई मिनेटदेखि साढे दुई घण्टासम्मको सिनेमा महोत्सवको लागि चयन भएको छ,” महोत्सव आयोजक संस्था नेपाल सिनेमा तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए।

महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ। जसमा भारतबाट सिनेमा निर्देशक निपोन धौला, जर्मनी सिनेमा कर्मी फाविन मात्थियस र सिनेमा कर्मी इभिन बिराजी, बेलायतबाट सिनेमा लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट सिनेमा निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट सिनेमा निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट सिनेमा कर्मी इरिना बेराजी रहेका छन्।

नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा सिनेमा विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, सिनेमा निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, सिनेमा निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन्।महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका सिनेमा चयन भएका छन्। यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका सिनेमा यो महोत्सवमा चयन भएका छन्। यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका सिनेमा पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ।

महोत्सवमा सिनेमा प्रदर्शनसँगै सिनेमा विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ। सिनेमा उद्घाटन समारोह काठमाडौंको दरबारमार्गस्थित क्युएफएक्स सिनेमा राइजिङ मल सिनेमा घरमा आयोजना गरिनेछ। उद्घाटनपछि सोही सिनेमा घरमा दुई दिनसम्म नियमित रूपमा सिनेमा प्रदर्शनीका साथै सिनेमा विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ। त्यसपछि सिनेमा विकास बोर्डमा तीन दिनसम्म सिनेमा प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ।

महोत्सवमा चयन भएका सिनेमा उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु सिनेमा, वृत्तचित्र, एनिमेटेड सिनेमा, महिला सिनेमा, बालबालिका सिनेमा, मानव अधिकारका सिनेमा जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका सिनेमा तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ। विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० सिनेमा पुरस्कृत गरिनेछ। साथै सिनेमा क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिनेछ।

सम्बन्धित समाचारसबै