२२ वर्षपछि निर्देशनमा दीपेन्द्र गौचनको कमब्याक: ‘मिसिङः केटी हराएको सूचना’ शुक्रबारदेखि प्रदर्शनमा

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन्। ३२ वर्षअघिको सिनेमा ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ आफ्नो लागि चुनौतीपूर्ण कमब्याक मान्छन्। दीपेन्द्र २२ वर्षपछि ठूलो पर्दाको सिनेमा निर्देशनमा कमब्याक भएका हुन्।
दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’को कथा लेखनको सुरुवात निकै रोचक छ। ‘म कम्बोडियामा पढाउँछु। विद्यार्थीहरुले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो। मैले एउटा दुईजना पात्रको कथा लेख्नु भनेर विद्यार्थीलाई अह्राएँ। उनीहरुले दुई हप्ताको समयमा कथा त लेखे, तर सबै मैले अस्वीकृत गरिदिएँ। किनकी त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ। तर विद्यार्थीले अन्य कथा जन्माएनन्। उल्टो उनीहरुले मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुहोस्’ भनेर चुनौती दिए’, दीपेन्द्र सम्झन्छन्।
विद्यार्थीको चुनौतीलाई स्वीकारेका दीपेन्द्रले एक कथा लेखे र त्यसको सर्ट सिनेमा बनाए। त्यो सिनेमा फेस्टिभलमा अवार्ड नै जित्यो।
कम्बोडिया बसाईको २२ वर्षपछि नेपाल फर्किदा दीपेन्द्रले त्यही कथा बोकेर आए। ‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन सुहाउँदो र अझ प्रगाढ हुने पाएँ। मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो सिनेमाको कथा लेखें’, उनी भन्छन्।
दीपेन्द्रका अनुसार उनलाई स्क्रिप्ट फाइनल गर्न झण्डै तीन महिना लाग्यो। उनले अङ्ग्रेजीमा लेखेको स्क्रिप्टलाई दीपेन्द्र, अमित पोखरेल र अमितेष शाहले नेपालीकरण गरे।
दीपेन्द्र स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको दाबी गर्छन्। ‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो। त्यो पात्र हामीले नाजिरमा पायौं। पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन्। किनकी उसलाई भेट्ने बित्तिकै म प्रभावित भए। गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो’, दीपेन्द्र खुल्छन्।
सिनेमाको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको कुरा उठान गरिएको देखाइएको छ। ‘मधेसको पात्र बनाएपछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ। मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो। मधेसको जोकोही पात्रलाई ‘नेपालीपन’को भावना अवश्य नै हुन्छ। जतिसुकै हासखेल रमाइलो गरे पनि राष्ट्रियताको मामलामा उसको अडान नै हुन्छ’, दीपेन्द्रको बुझाई छ।
दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’लाई महिला केन्द्रीत सिनेमा मान्छन्। ‘यो सिनेमामा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन। राम नाजिर कि सीता सृष्टि। दुवैको भूमिका बराबरी छ। त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो। महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नुहुँदैन। म चाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु। मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ’, उनी भन्छन्।
दीपेन्द्र ‘उजेली’सँगै ‘मुमिन’का लागि परिचित छन्।

सम्बन्धित समाचारसबै