सिनेसुत्र, बिराटनगर- नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ। भोलि शुक्रबारबाट रिलिज हुने सिनेमाको प्रिमियर पछि सिनेमा हेर्ने अधिकांश सिनेकर्मीले सिनेमाको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन्।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए।
अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका सिनेमाभन्दा फरक रहेको बताइन्। उनले आफूले ‘इन्जोय’ गरेको खुलाइन्। अभिनेता आयुष्मान देशराज जोशीले नेपाली सिनेमामा चलिरहेको जनराभन्दा फरक जनराको सिनेमा भएकाले राम्रो लागेको बताए।

निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको सिनेमा हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए। उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा सिनेमाको माध्यमबाट भनेको जनाए।
अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको सिनेमा हेर्न पाएको बताइन्। अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको सिनेमा भनी प्रतिक्रिया दिइन्। डीसिएनका अशोक शर्माले सिनेमामा दर्शकले नयाँ स्वाद पाउने बताए। अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको सिनेमा हेर्न एकदमै मनपर्ने बताइन्। उनले स्लोपेसमा डिटेल्समा बनाइएका चिज राम्रो लाग्ने खुलाइन्।
अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताइन्। निर्देशक प्रदीप भट्टराईले निर्देशक दीपेन्द्र गौचनबाट रेगुलर सिनेमाको अपेक्षा नभइरहेको अवस्थामा उनले फरक तरिकाले कथा भनेको बताए। निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो सिनेमालाई सहयोग गर्नुपर्ने बताए। विषयवस्तु र पर्यटकीय हिसाबले सिनेमा राम्रो रहेको उनले खुलाए।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। सिनेमामा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ।
सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। सिनेमामा अमितेष शाह विशेष भूमिका छन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको सिनेमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।


