निर्देशक भिम लामाको सिनेमा ‘पहिचान’मा पुराना चर्चित कलाकारको कमब्याक

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक भिम लामाले आफ्नो नयाँ सिनेमा ‘पहिचान’का लागि पुराना चर्चित कलाकारलाई अनुबन्ध गरेका छन्। केही दिनअघि नायक धिरेन शाक्यलाई अनुबन्ध गरेका लामाले अब चर्चित खलनायक राजेन्द्र खडगीलाई पनि सिनेमामा समावेश गरेका छन्। लामा बिगत लामो समय देखि मोफसलबाट सिनेमा क्षेत्रमा सक्रिय छन् ।

लामाले आफ्नो फेसबुक पेजमार्फत यो जानकारी सार्वजनिक गरेका हुन्। उनले अब नायिकाका लागि कारीश्मा मानन्धर वा प्रियंका कार्कीमध्ये एकलाई अनुबन्ध गर्ने बताएका छन्।

पछिल्लो समय नेपालमा चर्चाको विषय बनेको विभिन्न जातिय पहिचानको मुद्दालाई समेटेर निर्माण हुन लागेको यो सिनेमामा धिरेन शाक्य, राजेन्द्र खडगीसँगै प्रेम सुब्बा, रामजी बिष्ट, रोशन शर्मा, नव नायिका जेनि घिसिङ, शर्मिला राईजस्ता कलाकारहरू अनुबन्ध भइसकेका छन्।भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने यो सिनेमा पूर्वका विभिन्न स्थानमा छायांकन गरिनेछ। करिब १ करोडको लगानीमा बन्ने सिनेमाको छायांकन फागुन १८ गतेदेखि सुरु हुने निर्देशक लामाले जानकारी दिए। सिनेमालाई भिम लामा, रामजी बिष्ट, छिरीङ लामा र उमेश तामाङ (रोमियो लामा) ले संयुक्त रूपमा निर्माण गर्नेछन्। सानुराजा थेगिम र मणी कुमार लिम्बुले सिनेमाको कोरियोग्राफी गर्नेछन्।

लामाले यसअघि महानायक राजेश हमाललाई लिएर ‘माटो’ सिनेमा निर्माण गरेका थिए। उनका ‘लीलामे माइला’, ‘नासो’, ‘गोल फेक फ्रेण्ड’ जस्ता सिनेमाहरूले पनि दर्शकको मन जितेका थिए। ‘लीलामे माइला’ ले विभिन्न सिनेमा महोत्सवमा सहभागिता जनाएर अवार्डहरू जितेको थियो।

‘पहिचान’ सिनेमाले पनि जातीय पहिचानको महत्त्वपूर्ण विषयवस्तु उठान गर्ने छ। यसअघिको सिनेमा ‘लीलामे माइला’ जस्तै यो सिनेमाले पनि स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै