‘एक्टर: टेक वन’को ओभरसिज अधिकार धमाधम बिक्री: प्रदिप खड्का जापान-अमेरिका भ्रमणमा जादै

0 Shares

सिनेसुत्र, बिराटनगर- माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली सिनेमा ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ। नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो सिनेमा केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ।

गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ। ट्रेलरले पाएको यो लोकप्रियतासँगै सिनेमाको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ। अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ।

यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ। अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन्। जापान र अमेरिका रिलिजको लागि सिनेमाका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन्। नेपाल रिलिज पछि उनी त्यसतर्फ लाग्नेछन्। मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले बताए।

यसैबीच, ‘एक्टर: टेक वन’को ट्रेलरले नेपाली सिनेमा उद्योगमा ऐतिहासिक सफलता हात पारेको छ। ट्रेलर सार्वजनिक भएको पाँच दिनभित्र नै यसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। सम्भवतः नेपाली सिनेमाको ट्रेलरमध्ये सबैभन्दा छिटो ३ मिलियन भ्युज पाउने यो नै पहिलो हो।ट्रेलर हेरेका दर्शकहरूबाट सिनेमाको कथा, प्रस्तुति, र अभिनेता/अभिनेत्रीहरूको अभिनयप्रति अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। यो सिनेमाले ओभरसिज बजारमा पनि नेपाली सिनेमाको बजारलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

राजन भुसालद्वारा निर्देशित यस सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।

सम्बन्धित समाचारसबै