सिनेसुत्र, बिराटनगर- कलरिस्टबाट निर्देशक बनेका जुनिम गहतराजको निर्देशनमा बनेको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको टिजरले सिनेमाको डार्क र थ्रिलिङ पक्षलाई उजागर गरेको छ।
टिजरको सुरुवात मुख्य कलाकार अङ्कित खड्काको संवादबाट हुन्छ र अन्त्यमा रहेको निर्देशक जुनिमको ‘भगवान् पनि मै हुँ, राक्षस पनि मै हुँ’ भन्ने संवादले सिनेमाको कथावस्तुबारे थप जिज्ञासा उत्पन्न गराएको छ।
सिनेमाले एक नव विवाहित जोडीको जीवनमा आइपर्ने अप्रत्याशित घटनाहरूलाई पारिवारिक तथा एक्सन थ्रिलर शैलीमा प्रस्तुत गर्दछ। जब उनीहरू आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहेका हुन्छन्, त्यही बेला उनीहरूको जीवनमा आउने उतारचढावले कथामा रोमाञ्चक मोड ल्याउँछ।
सिनेमामा अङ्कित खड्का र जुनिम गहतराजसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको यस सिनेमामा हरि घले लामाले छायाङ्कन गरेका छन् भने सम्राट बस्नेतले एक्सन निर्देशन गरेका छन्। सुशान्त गौतमको सङ्गीत र कोविद बज्रको ब्याकग्राउण्ड म्युजिकले सिनेमालाई थप आकर्षक बनाएको छ।