सिनेसुत्र, बिराटनगर- सिनेमा ‘एक्टर’ र ‘एक्टर: टेक वन’बीच नामलाई लिएर उत्पन्न विवाद अदालतसम्म पुगेको छ। गत माघ ४ गत्ते देखि प्रदशनमा आएको सिनेमा निर्माण टिमले आफुहरुको सिनेमा ‘एक्टर’ को विषयमा आम दर्शकमाझ भ्रमको अवस्था सिर्जना गरेको कारण सोचे जस्तो व्यापार गर्न नसकेको भन्दै ‘एक्टर: टेक वन’ बिरुद्ध रिट दायर गरेका हुन् ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म माघ १६ गते प्रदर्शन तयारीमा रहेको सिनेमा ‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ सिनेमाका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन्।
दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति र उपयुक्त आदेश माग गरिएको छ। ‘एक्टर’ सिनेमाका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले यो मुद्दा हालेका हुन् ।
रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ। सिनेमा ‘एक्टर: टेक वन’ले नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेको आरोप लगाइएको छ।
साथै, रिटमा ‘एक्टर: टेक वन’लाई कुनै पनि विधि, पद्दति (सिनेमा घरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश जारी गराउन माग गरिएको छ।
‘विपक्षीको कार्यले मेरो सिनेमाको विषयमा आम दर्शकमाझ भ्रमको अवस्था सिर्जना भई मेरो सिनेमाले तत्काल आशातित व्यापार गर्न नसकेको अवस्था छ। साथै, मैले निकट भविष्यमा विदेशमा सिनेमा प्रदर्शन गर्ने योजना बनाएकोमा विपक्षीको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ,’ रिटमा उल्लेख छ।
दुवै पक्षलाई छलफलका लागि १५ गते अदालतमा बोलाइएको छ। साथै, रिटमा आफ्नो कम्पनीलाई आगामी दिनमा ‘एक्टर’को श्रृंखला निर्माणको अनुमति दिन पनि भनिएको छ। नामलाई लिएर यी दुई सिनेमाबीच केही समयदेखि विवाद चलिरहेको थियो।


