सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बराल प्रमुख भूमिकाको लागि अनुबन्ध भएका छन् । पेपरक्लिप प्रालिको निर्मार्ण रहने सिनेमा ‘जनै हराएको बाहुन’ को घोषणा देखि विजय सिनेमा रहेको हल्ला चलेको थियो तर, औपचारिक रुपमा कागजी सम्झौता भने हालै भएको हो । हिमाल न्यौपानेको निर्देशनको निर्देशन रहने सिनेमाको आकर्षक नामका कारण घोषणा देखिने यो सिनेमा दर्शकको नजरमा परेको छ ।
हालै मात्र नेपालमा ५० करोड माथिको व्यापार गरेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालले ‘जनै हराएको बाहुन’ सिनेमाको लागि लेखिएको स्क्रिप्ट मन परेर सिनेमामा जोडिएको प्रतिक्रिया दिएका छन्। सिनेमाको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन्।
यो सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। सिनेमाका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी, र निशान्त श्रेष्ठ रहेका छन्।
यस सिनेमामा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन्। एसोसियट निर्देशक ‘प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् भने भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन्।
सिनेमाका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ। 


