सिनेसुत्र, बिराटनगर- बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत सिनेमा ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी माघ २५ गते रिलिज हुने सिनेमाको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा जीवन सेञ्चुरीको निर्देशन छ।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिका भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ। केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाहपछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ। गाउँका खलपात्रले उनलाई लगाएको कुदृष्टिलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
ट्रेलर निकै मार्मिक बनेको छ। बाल विवाह गरेपछि एउटा बालिकाको जीवनमा कस्तोसम्म पीडा र दुःखका दिन सुरु हुन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ। छोरीलाई विवाह गरेपछि उसका बाबुआमाको छोरीप्रतिको पीरलाई पनि ट्रेलरमा समेटिएको छ।
ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई समेटिएको छ। ट्रेलर रिलिजपछि सिनेमाका निर्माता दीपकप्रसाद घिमिरेले सिनेमामा वास्तविकता भएकाले दर्शकलाई छुने बताए। ‘हामी जुनसुकै पेशा व्यवसायमा भए पनि यो हाम्रै घरको र गाउँको कथा हो। यस्ता घटना नेपालमा मात्र नभई दक्षिण एसियामा पनि प्रशस्त छन्। यस्तो सिनेमाले त्यस्तो हिंसाबाट बचाउन सहयोग गर्छ भन्नेमा हामी आशावादी छौं’, उनले भने।
निर्देशक जीवन सेञ्चुरीले सिनेमाले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गराउन समाजमा चेतना फैलाउन प्रेरित गर्ने बताए।
सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा दीपकप्रसाद घिमिरे निर्माता छन्। सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ। सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।