सिनेसुत्र, बिराटनगर- माघ १६ गते हिजो बुधबार शहिद दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘एक्टरः टेक वान’को शिर्षकलाई लिएर भइरहेको विवाद टुंग्यिएको छ । ‘एक्टर’ र ‘एक्टरः टेक वान’ सिनेमाका निर्माताबीच बिहीबार नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको हो ।
बिहीबार दिउँसो काठमाडौंको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको नाम विवादमा आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टरः टेक वान’का निर्माता मोती कार्कीले बताए । दुवै सिनेमाका निर्माताबीच लिखित समझदारी भएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज माघ १७ गते ‘एक्टर’का निर्माता नेपाली डायस्पोरा इन्टरटेन्मेन्ट तथा ‘एक्टरः टेक वान’का संयुक्त निर्माताहरु अदृत फिल्मस् र मोती फिल्मबीच आजकै मितिबाट ‘एक्टरः टेक वान’लाई देशव्यापी प्रदर्शन गर्न दिने सहमति गरियो । काठमाडौं जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपूर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्धा ‘एक्टरः टेक वान’लाई अझै थप क्षतिबाट बचाउनका लागि फिर्ता लिने सहमति भएको छ ।’
‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो सिनेमाको नाम र कथावस्तु चोरी गरेर ‘एक्टरः टेक वान’ निर्माण गरिएको दाबीसहित सिनेमाको प्रदर्शन रोक्न माग गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । त्यही रिटको आधारमा अदालतले मंगलबार ‘एक्टरः टेक वान’को तत्कालका लागि प्रदर्शन रोक्न आदेश जारी गरेको थियो । जसले गर्दा सिनेमाको बुधबार प्रदर्शन रोकिएको थियो ।

निर्माताबीच ‘एक्टर’ र ‘एक्टरः टेक वान’का विषयमा सहमति जुटेसँगै अब ‘एक्टरः टेक वान’लाई रिलिज गर्न बाटो खुलेको छ । शुक्रबार अदालत खुलेपछि ‘एक्टर’का निर्माताले मुद्धा फिर्ता लिने बुझिएको छ । तर, सिनेमा कहिले रिलिज हुन्छ । त्यो भने निर्माण टिमले जानकारी दिएको छैन् । शुक्रबार मुद्धा फिर्ता भएसँगै सिनेमा ‘एक्टरः टेक वान’को प्रदर्शनमा आउने छ ।
बिहीबार नै दुई सिनेमाका निर्माले विवाद मिलाएर नेपाल चलचित्र संघमा सिनेमा चलाउन निवेदन दिएसँगै संघले हललाई पत्र लेख्दै शुक्रबारबाट सिनेमा चलाउन अनुमति दिएको छ । संघको पत्र आएसँगै देशभरका सिनेमा हल शुक्रबारका लागि सिनेमाको शो खोल्ने तयारी थालेका छन् ।




