सिनेसुत्र, बिराटनगर- सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनमा आउने सिनेमाको गित बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रिलिज गरिएको हो।
२०७१ सालमा भाइरल भएको ‘जालमा’ गीतकै नयाँ संस्करण यो सिनेमामा समावेश गरिएको छ। पहिलो भागले बक्सअफिसमा राम्रो सुरुवात गरे पनि भूकम्पका कारण प्रदर्शन रोकिएको थियो। त्यही सिनेमाको सिक्वेल अब फेरि दर्शकमाझ आउँदैछ।
‘फेरी जालमा’ गीत कालीप्रसाद बाँस्कोटाको संगीत र मानस राजको शब्दमा तयार गरिएको छ। कालीप्रसाद बाँस्कोटा र सोमिया बराईलीले गाएको यो गीत प्रदिप लामाको कोरियोग्राफीमा तयार पारिएको हो, जसको छायांकन शिवराम श्रेष्ठले गरेका छन्।
निरज महर्जन निर्देशित सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय छ। ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधानबाहेक अधिकांश पुरानै टिम यो सिक्वेलमा समावेश छन्।
सिनेमाको कथा निर्देशक महर्जनले लेखेका हुन् भने सुसन प्रजापतीको छायांकन, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ।
‘फेरि रेशम फिलिली’ सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन्।