सिनेसुत्र, बिराटनगर- वर्षकै प्रतिक्षित सिनेमामध्ये एक मानिएको सिनेमा ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा सिनेमाका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ। वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भन्ने बुवाको कामनासँगै टिजर सुरु हुन्छ। विदेश गएको छोरो कफिनमा फर्किएपछि उत्पन्न तनावसँगै कथा अगाडि बढ्छ।
तर, त्यसभित्र केही ट्वीस्ट रहेको कलाकारको हाउभाउबाट देखिन्छ, जसले दर्शकलाई जिज्ञासु बनाउँछ। नदीमा डुबेको व्यक्तिको उद्धार, द्वन्द्व र पारिवारिक पीडा टिजरमा झल्किन्छ।
गरिबी र बेरोजगारीको समस्या सिनेमाले उजागर गर्ने संकेत टिजरले दिएको छ। क्यामेरावर्क र सुन्दर लोकेसनले टिजरलाई अझ आकर्षक बनाएको छ।
सिनेमा ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यही टिम रहेको छ।
सिनेमामा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्णा थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रोकज), प्रियना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय रहेको छ।
सिनेमाको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुँदैछ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन्। सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन्।