सिनेमा ‘होस्टेल ३’ को गीत ‘मनमा अनौठो’ सार्वजनिक, पारस र सिम्रनको रोमान्स

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली सिनेमा ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ। शुक्रवार बिहान सार्वजनिक गीतमा सिनेमाका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन्।

गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ। यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन्। गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ। यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन्।

यसअघि यस सिनेमाको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो। सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६ औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा रहेको छ।‘होस्टेल ३’ नेपालको चर्चित सिनेमा शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो। सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो। यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ।

पारस र सिम्रनसहित सिनेमामा रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, र समा पराजुलीको प्रमुख अभिनय रहेको छ। यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

सिनेमालाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्। सिनेमाका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।

यो सिनेमा फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।

सम्बन्धित समाचारसबै