सिनेसुत्र, बिराटनगर- चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन सिनेमा ‘मनको बाँध’ घोषणा गरेका छन्। सोमबार उनले सिनेमा को शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।
‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन्। अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन।
नेपाल सिनेमा प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की नेपाली सिनेमा क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन्। उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता सिनेमा हरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए। त्यसै गरी, उनी दुई वर्ष अगाडि रिलिज भएको सिनेमा ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ।
‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ। यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए।
‘मनको बाँध’ नामले नेपाली सिनेमा इतिहासमा पनि ठूलो महत्त्व राख्छ। २०२८ सालमा तत्कालीन शाही नेपाल सिनेमा संस्थानले यसै नामको सिनेमा निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो। प्रकाश थापाको निर्देशनमा बनेको उक्त सिनेमा मा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए।