सिनेसुत्र, बिराटनगर- सार्वजनिक भएको ३ घन्टामै सिनेमा ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ। युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो सिनेमाले दर्शकको उत्साहजनक साथ पाएको छ। हाल यो सिनेमाको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ३ नम्बर ट्रेन्डिङमा छ।
यो सिनेमाको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन्। यस्तै, सिनेमाको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा हिमाल कडरियाको लगानी छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ।
सिनेमाले यौन दुर्बलताको कथा भन्छ। दर्शकले नायक दयाहाङ राइको फरक भूमिका रहेकाले पनि सिनेमा हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन्। दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित देखिएको छ। फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो सिनेमा रिलिजमा आउँदैछ।