सिनेसुत्र, बिराटनगर- पूर्व मन्त्री रामकुमारी झाक्रीले सिनेमा ‘एक्टर: टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस सिनेमा लाई ‘एकदमै रहस्यमय र रमाइलो’ भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् ।
झाक्रीले भनिन्, “सायदै मैले यस्तो राम्रो सिनेमा हेरेको थिइन ।” उनले प्रदिप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई पनि सम्बोधन गरिन् । उनले भनिन्, “म नेपाली सिनेमा लाई प्रवर्द्धन गर्ने व्यक्ति नै हुँ । बधाई छ प्रदिप खड्कालाई । दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ ।” साथै, उनले राजबल्लभ कोइरालालाई पुनः सिनेमा मा स्वागत गर्दै, सबै कलाकार, निर्देशक र निर्माताहरूलाई पनि बधाई दिइन् ।
झाँक्रीले यस सिनेमा ले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा पनि बोलिन् । “विवाद नहुनुपर्ने थियो, भयो तर केही छैन । यो सिनेमा उठिसकेको छ, अब झनै दौडिनेछ । दर्शकलाई मैले यो सिनेमा सफल बनाउन अनुरोध गर्छु,” उनले भनिन् । उनले सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्नेमा जोड दिँदै भनिन्, “जे कुरा हुन्छ, सिनेमा को सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो । यो सिनेमा लाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो । यो सिनेमा को नाम पनि हुबहु मिलेको छैन । हाम्रो अदालत पनि प्रो एक्टिभ छ ।”
झाक्रीले सिनेमा का लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताइन् । उनले हुबहु नमिलेको नाममा यस्तो नहुनु पर्ने भन्दै मानिसहरूले अप्ठेरो पार्न पनि यस्ता गतिविधि गर्ने गरेको र यस्तो गर्नु राम्रो नभएको जिकिर गरिन् ।
अभिनेता राजबल्लभ कोइरालाले राम्रो फिल्ममेकरको महत्त्व दर्साउँदै फिल्ममेकर जोगाउँदा नेपाली सिनेमा लाई फाइदा हुने बताए ।
‘एक्टर: टेक वन’ प्रदर्शनमा आएको एक हप्तामा दर्शकबाट व्यापक रूपमा सकारात्मक प्रतिक्रिया पाएको छ । यस सिनेमा मा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । सिनेमा को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमा मा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।




