ऋषिराज आचार्य निर्देशित ‘द्रोपदी’ को पहिलो गीत ‘कर्णाली काटौंला’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘द्रोपदी’को पहिलो गीत ‘कर्णाली काटौंला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा सिनेमाका मुख्य अभिनेता समेत रहेका रवि ओड र इन्द्रकला राईको स्वर छ । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ । सार्वजनिक गीत रोमान्टिक भावमा तयार पारिएको छ ।विष्णु ठडराईको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा सिनेमाका मुख्य दुई जोडी ऋषिराज आचार्य र आश्विनी शाही तथा रवि ओड र सुजता तिमल्सिनाबीचको प्रेमलाई देखाइएको छ । डोल्पाको जनजीविका र भौगोलिक विकटतालाई समेत चित्रण गरिएको गीतमा डोल्पामै अवस्थित शे-फोक्सुन्डो तालको दृश्य पनि समावेश छ ।

ऋषिराज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमामा कविराज भाम, जेएलसन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको पनि अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन रहेको सिनेमामा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्मातामा छन् । सिनेमाको कथा लेखन ऋषिराज स्वयंको हो ।‘महाभारत’को द्रौपदी पात्रसँग सिनेमाको नाम मिल्ने भएपनि कथा त्यसमा आधारित नरहेको निर्देशक आचार्यको दाबी छ । उनका अनुसार सिनेमामा देशको यथार्थपरक कथा उठाइएको छ । ‘द्रोपदी’ उनको छैटौं निर्देशित सिनेमा हो । उनले यसअघि ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘चुरीफुरी’को निर्देशन गरिसकेका छन् । हाल निर्देशक आचार्य सेन्सर बोर्डका सदस्य पनि हुन् ।

सम्बन्धित समाचारसबै