सिनेसुत्र, बिराटनगर- सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली सिनेमा ‘एक्टर: टेक वन’ अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानबेरा लगायतका अन्य सहरहरूमा प्रदर्शन सुरु हुने अस्ट्रेलियामा वितरण गर्ने कम्पनी इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीले बताए ।
यस सिनेमा को अस्ट्रेलिया रिलिजको लागि इस्सा भाइबले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशी संग साथ सहकार्य गरेका छन् । वितरक क्षेत्रीले केही सहरमा रिलिजको सबै तयारी गरिसकेको र केहीको लागि भने बुकिङ ओपन गरेको बताए । जसको लागि इस्सा भाइब इभेन्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिने उनले जनाए ।
नेपालमा दोस्रो हप्तामा चलिरहेको ‘एक्टर: टेक वन’लाई दर्शकबाट ‘टेक टू’को पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको सिनेमा ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् । प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस सिनेमा बाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि सिनेमा मा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा सिनेमा मा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।
यस सिनेमा मा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । सिनेमा को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमा मा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।




