काठमाडौं जिल्ला अदालतमा केकी अधिकारी र आर्यन सिग्देलले दिए रोशन पराजुलीविरुद्ध किटानी जाहेरी

0 Shares

सिनेसुत्र, बिराटनगर- काठमाडौं जिल्ला अदालतमा केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्य सहितका कलाकारको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रोशन पराजुलीविरुद्ध केही दिनअघि मुद्दा दायर गरेको छ ।रोशन पराजुलीविरुद्ध ठगी तथा मानव तस्करी सम्बन्धी मुद्दा दायर गरिएको छ। कलाकार केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहित अन्य केही व्यक्तिले २०७९ सालमै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा जाहेरी दिएका थिए।

पराजुलीले ‘तिम्रो नजर’ नामक फिल्म छायांकनका लागि भन्दै १४ जनालाई नर्वे लैजाने योजनासहित दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए। अनुसन्धानका क्रममा नेपाल पर्यटन बोर्डको कागजात कीर्ते गरिएको पुष्टि भएको छ।अदालतमा दायर अभियोगपत्रअनुसार, पराजुलीले ब्लुबर्ड प्रालि नामक नक्कली फिल्म कम्पनी खोली, कलाकारका नाममा सेन्जेन भिसाका लागि आवेदन दिएको पाइएको छ। भिसा आवेदन दिइएका केही व्यक्ति गैरकलाकार रहेको र उनीहरूबाट पैसा उठाइएको खुलेको छ।

पराजुली हाल फरार छन्। सरकारी वकिल कार्यालयले उनलाई पक्राउ गर्न अदालतसमक्ष पूर्जी जारी गर्न माग गरेको छ। साथै, पीडितहरू र नेपाल पर्यटन बोर्डलाई क्षतिपूर्ति दिलाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचारसबै