सिनेसुत्र, बिराटनगर- र्यापर तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युबमा रिलिज भएको डेढ घण्टामै ट्रेन्डिङ मा प्रवेश गरेको छ। समाचार तयार पार्दासम्म यो गीत चौथो स्थानमा रहेको छ। ट्रेन्डिङको प्रवृत्ति हेर्दा, केही घण्टामै शीर्ष स्थानमा पुग्ने सम्भावना देखिन्छ।
सोमबार बेलुका ५ बजे सार्वजनिक गरिएको यो गीत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाज शरणम्’ को प्रमोसनल गीत (ओएसटी) रहेको बताइएको छ। सार्वजनिक नभएका बालेनका २२ गीतको क्याटलगबाट छनोट गरी तयार पारिएको यो गीत हिपहप (र्याप) जनरामा निर्माण गरिएको हो।
समाचार लेख्दासम्म, गीतको भ्यूज २ लाख ८६ हजार नाघेको छ, ७ हजारभन्दा बढी कमेन्ट प्राप्त भएका छन्, र ८३ हजारभन्दा धेरै लाइक्स पाइसकेको छ। बालेनका प्रशंसकहरूले गीतलाई सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिरहेका छन्।
टिकटकमा पनि छोटा क्लिपहरू सेयर भइरहेका छन्। मेयर भएपछि बालेनको यो पहिलो गीत भएकाले दर्शक तथा श्रोताहरू यसप्रति विशेष उत्साहित देखिएका छन्।
फागुन १४ गते शिवरात्रि मा रिलिज हुन लागेको सिनेमा ‘लाज शरणम्’ मा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियना आचार्य लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमाको निर्देशन कुमार कट्टेल ले गरेका हुन्।