सिनेसुत्र, बिराटनगर- सिनेमा ‘पिताम्बर’ को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत यो गीत सार्वजनिक गरेको हो।
गीतको भिडियो आकर्षक कोरियोग्राफी र उच्च प्रोडक्सन भ्यालु सहित तयार पारिएको छ। भव्य सेट, ठूलो संख्यामा कोरस कलाकारहरूको प्रयोग, र उत्कृष्ट सिनेमाटोग्राफीका कारण भिडियो प्रभावशाली देखिएको छ। गीतमा अस्मिता अधिकारी र आशिष अभिरलको आवाज छ भने, संगीत आशिष अभिरल स्वयंले दिएका छन्। गीतको रचना आनन्द अधिकारी र आशिष अभिरल ले संयुक्त रूपमा गरेका हुन्।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र दिव्या रायमाझी को आकर्षक नृत्य देख्न सकिन्छ। सुदृढ कोरियोग्राफी, ऊर्जा, र कोरस कलाकारहरूको सामूहिक सहभागिता ले भिडियो अझ उत्कृष्ट देखाएको छ।
‘पिताम्बर’ मा स्टार कलाकारहरूको दमदार अभिनय छ। सिनेमामा प्रदीप खड्का, दिव्या रायमाझी, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी जस्ता कलाकारको अभिनय समावेश छ।
सिनेमा केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको सहकार्यमा निर्माण भएको हो। सिनेमाका छायाँकार पुरुषोत्तम प्रधान हुन् भने विशाल चौलागाईं निर्माता रहेका छन्। कथा प्रदीप भारद्धाजले लेखेका हुन् भने द्वन्द्व निर्देशन हिमाल केसीको रहेको छ। ५ करोड लगानीमा निर्माण गरिएको सिनेमा ‘पिताम्बर’ चैत २९ गते रिलिज हुँदैछ।