सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लाज शरणम्’ को गीत ‘नेपाल हाँसेको’ ले युट्युब ट्रेन्डिङमा नयाँ इतिहास रचेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले गाएको यो गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो। यो गीतले सबैभन्दा चाँडो एक नम्बरमा ट्रेन्डिङमा आउने गीतको रेकर्ड बनाएको हो।
२४ घण्टामा ११ लाख भ्युज पाएको यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने सिनेमा ‘लाज शरणम्’को पहिलो गीत बनेको छ। गीतको शब्द, संगीत, स्वर र र्याप बालेन शाहकै रहेको छ। यो गीतले विकसित नेपालको परिकल्पना प्रस्तुत गर्दै आजको यथार्थ चित्रण गरेको छ।
गीतमा बालेनका साथमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्का लगायतका कलाकारहरूको पनि कोरसमा आवाज सुन्न सकिन्छ। यो गीत बालेन मेयर भएपछि गाएको पहिलो गीत हो र सिनेमा ‘लाज शरणम्’ लाई प्रोमोसनल गीतका रूपमा प्रयोग गरिएको छ। सिनेमा ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको हो। सिनेमा सिताराम कट्टेल ‘धुर्मुस’ को मुख्य भूमिका रहेको छ भने कुमार कट्टेल निर्देशनमा यो सिनेमा बनेको हो।
सिनेमा ‘लाज शरणम्’ मा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी लगायतका कलाकारहरूको अभिनय रहेको छ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमा ‘लाज शरणम्’ को निर्माता नवीन श्रेष्ठ, सह-निर्माता राम नरेश शाह र सृजना खड्का रहेका छन्। सिनेमा फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने छ।
सिनेमा ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षित सिनेमामध्ये एक हो, र बालेनको गीतले यसलाई थप प्रतिक्षित बनाएको छ।