सिनेसुत्र, बिराटनगर- कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने सिनेमा ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई सिनेमा मा अनुबन्ध गरेका हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई सिनेमा निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।
निर्माता पोखरेलका अनुसार जितु सिनेमा का प्रमुख दुई पात्रमध्ये एक हुन्। ‘अर्को प्रमुख पात्र पनि चाँडै फाइनल हुनेछ। यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक महिला पनि फाइनल हुँदैछिन्,’ निर्माता पोखरेलले भने, ‘चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौं।’
सिनेमा मा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ। सिनेमा का निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्। सिनेमा मा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन्। निर्माता पोखरेलका अनुसार सिनेमा को प्रदर्शन २०८२ मा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सिनेमा निर्माण गरेका थिए।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले सिनेमा मा प्रस्तुत गर्न लागेको बताए। सिनेमा मा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ।
निर्माता पोखरेलले यसअघि सिनेमा हरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।



