२३ वर्षपछि सिनेमा यात्रामा फर्किए रामकृष्ण ढकाल: ‘मालती मङ्गले’ निर्माण घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- चर्चित गायक रामकृष्ण ढकालले सिनेमा निर्माण घोषणा गरेका छन् । करिब ४ हजार भन्दा धेरै नेपाली गीतमा स्वर दिएका ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा सिनेमा निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो सिनेमा केही दिनअघि सिनेमा विकास बोर्डमा दर्ता गरिएको थियो ।नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको सिनेमा सङ्ग पुरानो सम्बन्ध छ । उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको सिनेमा ‘आशीर्वाद’ मा अभिनय गरेका थिए । उक्त सिनेमा उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन् ।ढकालले लेखेका छन्, “समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ ! अब, फेरि पनि सिनेमा सङ्गको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । तर, यस पटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदै छु।” सङ्गीतलाई जीवन मानेका ढकालले सिनेमा ‘मालती मङ्गले’ उनका लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै भनेका छन्, “यो सिनेमा ले मेरा सपनाहरूको एउटा ठुलो हिस्साको प्रतिनिधित्व गर्छ । म सबै दर्शक, सिनेमा प्रेमी, शुभचिन्तक र सङ्गी-साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु।”यो सिनेमा रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । सिनेमाको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् । हालका लागि सिनेमाको अन्य टिमबारे जानकारी दिन बाँकी रहेको ढकालले बताएका छन् ।

नेपाली सङ्गीतमा लामो अनुभव सँगालेका ढकालले सिनेमा निर्माणमा नयाँ मोड लिँदै गर्दा ‘मालती मङ्गले’को कथा के हो र यो सिनेमा कस्तो बन्नेछ भन्ने प्रतीक्षाको विषय बनेको छ ।

सम्बन्धित समाचारसबै