‘दुखी आत्मा’ नेपालमा हिट, युएई र बहराइनमा रिलिज रोकियो: कतारमा विना कटौती प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपालमा शुक्रबारदेखि रिलिजमा आएको सिनेमा ‘दुखी आत्मा’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा सिनेमा हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा सिनेमा बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।
तर, यो सिनेमा युएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो सिनेमा युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।
पहिलो पटक सिनेमाको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण सिनेमा युएइमा पास हुन नसकेको हो । युएइमा ‘युएइ मिडिया काउन्सिलले’ सिनेमा हेर्ने नियम छ ।युएइमा सिनेमा पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ । युएइकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो ।
तर, यो सिनेमा कतारको सेन्सरबाट भने पास भएको छ । विना काँटछाँट सिनेमा कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारबाट नै सिनेमा लागिरहेको छ ।
दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो सिनेमाले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको सिनेमामा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।

सम्बन्धित समाचारसबै