सिनेसुत्र, बिराटनगर- ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायांकन सम्पन्न भएको छ। मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन छायांकन गरी पूरा भएको हो। सिनेमा ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ। नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले सिनेमा रिलिज गर्ने लागेको हो।
‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो। निर्माणपक्षले सिनेमाका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको थियो, जसमा विपीन कार्की फिचर्ड थिए। सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ। सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज मार्केटमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ। एक्सन जनरामा यो सिनेमा निर्माण भएको छ। ‘कर्मा’ विपीनको पहिलो एक्सन सिनेमा हो, जसले दर्शकमा अझै कौतुहलता बढाएको छ। ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ।
मुकुन यो सिनेमामा नेगेटिभ क्यारेक्टरमा छन्। एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।


