सिनेसुत्र, बिराटनगर- गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली सिनेमा ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ। ‘दयारानी’ नेपाली पारिवारिक सिनेमा हो, जसलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका छन्। यो सिनेमामा दयाहाङ राई, दिया पुन, र विजय बराल मुख्य भूमिकामा छन्।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यस सिनेमाको कथाले एक दम्पतीको बाँझोपनसँगको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गर्दछ। समाजका अपेक्षाहरू र जटिल पारिवारिक सम्बन्धहरूको बीचमा, पतिपत्नीले सन्तान प्राप्तिका लागि गर्ने प्रयासहरूलाई सिनेमाले हास्य र भावनात्मक ढङ्गले चित्रण गरेको छ।
‘सिनेमाघर’ नेपाली सिनेमाहरूको डिजिटल प्रदर्शनका लागि चर्चित ओटीटी प्लेटफर्म हो, जसले दर्शकहरूलाई सजिलै नेपाली सिनेमाहरू हेर्न सक्ने सुविधा प्रदान गर्छ। सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ।
यस ओटीटी प्लेटफर्ममा सिनेमा हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेटहरू तथा क्युआर कोड भुक्तानी गर्न सक्नेछन्। साथै, नेपाली भाषामा सपोर्ट तथा २४ घण्टाको प्राविधिक सहायता सुविधा समेत उपलब्ध छ, जसले दर्शकलाई अझ सहज बनाउनेछ।

