‘लाज शरणम’ को प्रदर्शनमा संकट: पूर्वमन्त्री अफताव आलमको अदालतमा रिट

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाज शरणम’ का लागि पाटन उच्च अदालतले ठूलाे झट्का दिएको छ। अदालतले सिनेमाको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यसको प्रचार गर्न नपाइने निर्णय सुनाएको छ।पूर्वमन्त्री मोहम्मद अफताव आलम ले आफ्नो अनुहारसँग मिल्दोजुल्दो पात्रलाई अनुमति बिना प्रयोग गरिएको भन्दै अदालतमा रिट दायर गरेका थिए। मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावल को संयुक्त इजलासले आलमको निवेदनमाथि सुनुवाइ गर्दै सिनेमाको प्रचारप्रसार तत्काल रोक्न आदेश दिएको हो।

रिटमा उल्लेख गरिएअनुसार सिनेमामा देखाइएका पात्रको अनुहार, पहिरन, शारीरिक बनावट, हाउभाउ तथा संवाद शैली आलमको वास्तविक व्यक्तित्वसँग हुबहु मेल खान्छ। यसकारण बिना अनुमति यस्तो प्रस्तुति गर्न नमिल्ने भन्दै उनले चलचित्र विकास बोर्ड लाई विपक्षी बनाउँदै कानुनी लडाइँ थालेका हुन्।अदालतले आदेश जारी गर्दै भनेको छ—
“संविधान तथा कानूनले प्रदत्त अधिकारमा आघात पुगेको अवस्था भए, केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई सिनेमालाई रोक्न सक्छ। त्यही आधारमा ‘लाज शरणम’ मा निवेदकको मुखाकृति जस्ताको तस्तै प्रस्तुत गरिएको देखिएको हुनाले सो सिनेमाको प्रचारप्रसार तत्काल रोक्न अन्तरिम आदेश जारी गरिन्छ।”

‘लाज शरणम’ जेपीटी क्रिएसन को ब्यानरमा निर्माण भएको सिनेमा हो। फागुन १४ गते महाशिवरात्रि को अवसरमा प्रदर्शनको तयारी गरिरहेको सिनेमाले अदालतको आदेशपछि नयाँ रणनीति तय गर्नुपर्ने देखिन्छ।

सम्बन्धित समाचारसबै