सिनेसुत्र, बिराटनगर- नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’ यतिबेला चर्चामा छ। मल्टिस्टारर यो सिनेमाको टिजर र गीत रिलिज भएसँगै यसको हाइप दिनानुदिन बढ्दो छ।
सिनेमाकी निर्देशक कृषा चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण विदेशमा सिनेमाको माग उच्च छ। ‘टिजर र गीतलाई प्राप्त प्रतिक्रियाले विदेशमा सिनेमाको माग ह्वात्तै बढेको छ। हरेक कथा अनुसार नयाँ सिनेमा बन्ने भएकाले ‘पिताम्बर’ पनि नयाँ कथा हो,’ उनी भन्छिन्।
सिनेमाका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने एक्सनपूर्ण टिजरमा सिनेमाका कलाकारहरू प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अटाएका छन्। बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरलाई १७ लाख बढी पटक हेरिएको छ।
त्यस्तै प्रदीप खड्का र दिव्या रायमाझीको रोमान्स रहेको गीत ‘म त फ्यान भए यार’लाई १९ लाख पटक हेरिएको छ। तराईको लोकेसनमा भारतीय प्राविधिकले डिजाइन गरेको भव्य सेटमा छायांकन गरिएको गीत निकै राम्रो बनेको छ।
निर्माता विशाल चौलागाईं सिनेमा प्रति आफ्नो रुचि बढ्दै गएकाले अझ राम्रो सिनेमा बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँछन्। पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको सिनेमा ‘ऐंचोपैचो’ निर्माण गरेका थिए।
सिनेमा ‘ऐंचोपैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन्।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।
सिनेमामा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।
विशाल चौलागाईं निर्माता रहेको सिनेमामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। सिनेमा आरआर फिल्मसले वितरण गर्दैछ।