“भूठान”को टिजरमा संवेदनशील मुद्दा: आप्रवासन, पहिचान र परिवारको द्वन्द्व

0 Shares

सिनेसुत्र, बिराटनगर- हरिवंश आचार्यको बहुप्रतिक्षित सिनेमा ‘भूठान’को टिजर सार्वजनिक भएको छ। ‘भूठान’ शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ।
ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन्। अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन्, जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ।एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरू दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ। सो दृश्यले सिनेमामा यो विवादको अन्त्य कसरी होला भन्ने कौतुहलता प्रदान गरेको छ। अर्को एक दृश्यमा समलैंगिक सम्बन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन्। खुला समाजले दिएको स्वतन्त्रता र त्यसले परिवारमा ल्याएको तनाव सो दृश्यले देखाउन खोजेको छ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको सिनेमामा देखिएका छन्, जसले सिनेमा अन्तराष्ट्रिय स्तरमै बनेको देखिन्छ। टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढ्दै गरेको धमिलो नांगो शरीर र “तेरो पुनर्जन्म भयो” भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ, जसले सिनेमाको कथावस्तु अत्यन्त गम्भीर रहेको र हरिवंश आचार्यले अभूतपूर्व अभिनय गरेको स्पष्ट देखिन्छ।

ट्रेलर हेर्नुहोस : 

सिनेमा भित्र हरिवंशको पुनर्जन्म हुन्छ कि हुँदैन, पुरै सिनेमा नआई भन्न सकिन्न, तर अभिनयको दुनियाँमा भने उनको पुनर्जन्म हुने निश्चित देखिएको छ। यति लामो उनको अभिनय यात्रामा यो खालको हाउभाउ र चरित्र अहिलेसम्म नेपाली सिनेमाका दर्शकले देख्नै पाएका थिएनन्।

सिनेमाको टिजरमा देखिएको अर्को अभूतपूर्व काम भनेको सुसन प्रजापतिको छायांकन हो। प्रस्तुत कुनै पनि दृश्य र दृश्यभाषा अहिलेसम्म बनेका नेपाली सिनेमाको जस्तो छैनन्, र यो कुनै हलिउडकै सिनेमा हो कि भन्ने लाग्छ। सरसरती हेर्दा निर्देशक विनोद पौडेलले नेपालका कलाकार र हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्नलाई लिएर विशेष काम गरेका छन् भन्ने छनक देखिएको छ।

अंग्रेजीमा ‘The World’s Happiest Man’ नाम रहेको यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन्। हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली सिनेमा हो, जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन्।

सन् २०१९ मा ९२ औं ओस्कर अवार्डका लागि नेपालबाट मनोनित सिनेमा “बुलबुल” निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय सिनेमा पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो सिनेमा हो।

यस सिनेमाको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन्। साथै कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल–कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह-निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, रविन पोखरेल र नवराज पराजुली छन्। यसका अलावा दीपक गजमेर लाइन प्रोड्युसर र एसोसियट प्रोड्युसरमा एली बोहरा रहेकी छन्।सिनेमामा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सम्बरन प्रेथु राईको संगीत, सुर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ।

यस सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।

सिनेमाले भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्मघर हराएको सबै आप्रवासीको पीडा प्रस्तुत गरेको छ। यो सिनेमा वैशाख १२, २०८२ मा संसारभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचारसबै