सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले आफूले सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन्। बजेट, लोकेसन, र समयको हिसाबले कुनै पनि कटौती नगरी उच्च स्तरको सिनेमा निर्माणमा ध्यान केन्द्रित गरेको उनले बताएका छन्।
रियलस्टेट र होटेल व्यवसायमा संलग्न रहेका नवीन श्रेष्ठको यो पहिलो सिनेमामा लगानी हो। यसअघि उनले कला, साहित्य वा सिनेमामा कुनै लगानी गरेका थिएनन्। तर, ‘लाज शरणम्’ टिमको मेहनत र सिनेमाको सम्भावना देखेर उनले यो क्षेत्रमा लगानी गर्ने निर्णय लिएको बताएका छन्। “अब म पछि हट्दिनँ, भविष्यमा पनि सिनेमामा लगानी गर्दै जानेछु,” उनले आफ्नो प्रतिबद्धता व्यक्त गरे।
व्यापारिक हिसाबले रियलस्टेट क्षेत्र केही सुस्ताएको समयमा सिनेमा निर्माणमा हात हाले पनि उनले यसलाई निरन्तरता दिने बताएका छन्। सिनेमामा प्रवेश गर्ने अर्को महत्वपूर्ण कारणसमेत उनले खुलाए।
नवीन श्रेष्ठका अनुसार, सिनेमाले पनि विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण भूमिका खेल्न सक्छ। “जसरी विदेशी सिनेमाहरू नेपालबाट पैसा लैजान्छन्, त्यसरी नै हामीले पनि नेपाली सिनेमाबाट विदेशी मुद्रा नेपाल भित्र्याउनुपर्छ,” उनले भने। “यसका लागि उत्कृष्ट सिनेमा निर्माण गर्नुपर्छ, जसले अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्न सकोस्। अब हामी सबै मिलेर यसबारे गम्भीर रूपमा सोच्नुपर्छ।”
उनले नेपाली सिनेमालाई विदेशी बजारसम्म पुर्याउन सरकार, निर्माता र कलाकारहरू सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए।
महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि ‘लाज शरणम्’ प्रदर्शनमा आउँदै छ। लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमले निर्माण गरेको यस सिनेमामा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्। सिनेमालाई कुमार कट्टेल ले निर्देशन गरेका छन्।
यसमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ।
जेपिटी क्रियसन को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन्।


