सिनेसुत्र, बिराटनगर- बुधबारदेखि रिलिज हुने सिनेमा ‘लाज शरणम्’ को अग्रिम बुकिङ सोमबारदेखि खुला गरिएको छ। कोशी प्रदेशमा पनि दर्शकको उच्च मागलाई ध्यानमा राख्दै विभिन्न मल्टिप्लेक्स तथा हलहरूले अग्रिम शो खुल्ला गरेका छन्। कोशी प्रदेशको हलहरूले सिनेमालाई उच्च प्राथमिकता दिदै सिटि सिनेमा बिराटनगरले ४ शो, सेन्टर मल्टीप्लेक्सले ३ शो, क्यूएफएक्सले २ शो दिएको छ । त्यस्तै दमकको डीम्याक्स सिनेमा हलले ३ शो, विर्तामोडको क्विएफएक्सले ४ शो, इटहरीको क्विएफएक्स सिनेफ्लेक्स हलले ५ शो प्रदान गरेको छ ।
त्यस्तै देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा देश भरि ६५ शो पाएको छ, जसमा काठमाडौं उपत्यकामा २९ र उपत्यका बाहिर ३६ शो निर्धारण गरिएको छ। अन्य हलहरूको बुकिङ हेर्दा बिग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो प्रदान गरेका छन्। आईएनआई र वान सिनेमाज ले शो बाँडफाँट गर्ने प्रक्रिया बाँकी छ। हालसम्म खल्ती एपमा ‘लाज शरणम्’ ले १०१ शो पाएको देखिन्छ। ‘लाज शरणम्’ यस वर्षको प्रतिक्षित सिनेमाहरू मध्ये एक मानिएको छ। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आउँदै छ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ टिमले निर्माण गरेको यस सिनेमामा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) रहेका छन् भने निर्देशन कुमार कट्टेल ले गरेका छन्।
यस सिनेमामा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूको अभिनय रहेको छ।
जेपिटी क्रियसन को ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन्।


