प्रिमियरमा राजेश हमालको समीक्षा: ‘मायावी’ ले सिंगो सिनेमा क्षेत्रलाई चलायमान बनाउनेछ

0 Shares

सिनेसुत्र, बिराटनगर-  भोलि बुधबारदेखि रिलिजमा आउन लागेको सिनेमा ‘मायावी’ले सिंगो सिनेमा क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया नायक राजेश हमालले दिएका छन् । सिनेमाको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित सिनेमाको प्रिमियरमा भने किर्तिपुर सिनेप्लेक्ससम्म पुगेका थिए ।

सिनेमा हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले सिनेमा हेरेपछि भने–‘यो सिनेमामा हरेक कुरा छ । सिनेमाको कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् । यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।’हमालले अगाडि भने–‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभ स्टोरी सिनेमा विशेष छ ।’ नायक हमालले यसको प्रस्तुति निकै मन परेको बताए । सिनेमाका निर्देशक दिवाकर भट्टराइको अर्को सिनेमा ‘नरसिंहाः अवतार’मा काम गरेका हमालले भने–‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो छ । यसैले, दिवाकरजीलाई वधाई दिन चाहन्छु । सिनेमाको सुरुवातदेखि अन्त्यसम्म एउटा गती समातेर अगाडि बढेको छ । यसैले, दर्शकले यो सिनेमा मन पराउनुहुन्छ भन्ने लागेको छ ।’सिनेमा ‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरु सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । यस्तै, सिनेमाका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए । सिनेमाका मुख्य नायक पल शाह भने अर्को एक सिनेमाको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् ।

सिनेमा हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा सिनेमा बनेको सिनेमा कर्मीको भनाई छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो सिनेमाले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । सिनेमामा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् । यस्तै, क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।

खुल्यो बुकिङ

यसैबिच, यो सिनेमाको बुकिङ देशभरका मल्टिप्लेक्सले खुलाएका छन् । सोमबार बेलुकीबाट नै देशभरका मल्टिप्लेक्समा सिनेमाले सुखद शोज पाएको छ । क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले सिनेमाको शोज खुलाएका छन् ।

ट्रेलर हेर्नुहोस : 

सम्बन्धित समाचारसबै