सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो। कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन्। ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन्।
काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ। रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु सिनेमाको राम्रो व्यापार गर्ने संकेत हो। अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन्। काठमाडौंमा क्यूएफएक्सले दुई शो थपिसकेको छ। शो खोल्दा काठमाडौंमा क्यूएफएक्सले २९ शो दिएकोमा अहिले ३१ शो छ। तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन सिनेमाको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन्। यो सिनेमालाई देशभर करिब दुई सय शो प्राप्त भएको छ।
‘लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो। महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते (भोलि)देखि प्रदर्शनमा आउँदै छ। लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको सिनेमा ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्। सिनेमालाई कुमार कट्टेलले निर्देशन गरेका छन्। विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।
ट्रेलर हेर्नुहोस :