राजवल्लभ कोइराला अभिनीत सिनेमा ‘भूठान’ को‘ठक्कर’ गीत सार्वजनिक
0
Shares
सिनेसुत्र, बिराटनगर- २०८२ बैशाख १२ मा प्रदर्शन हुने सिनेमा ‘भूठान’का निर्माता अविरल थापाले ‘ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसार सिनेमाका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् ।एक्टर टेक वन सिनेमा को प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाको छायांकन भएको थियो । गायक विनोद, गीतकार अविरल र अभिनेता राजवल्लभ पुराना मित्रहरू हुन् ।
समाजमा बढ्दै गएको चरम निराशा, अवसाद, विग्रह, हत्या र आत्महत्यालाई केही हदसम्म भए पनि निरुत्साहन गर्नका लागि गीत-संगीतको माध्यमद्वारा आशा र हिम्मतको संचार गराई मानसिक स्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापाले बताएका छन् । थापाले यसअघि सिनेमा ‘साँघुरो’को लागि ‘आउँदैछु कि जाँदैछु’, शिशिर योगीको स्वरमा ‘आफ्नै देशमा बस साथी’, प्रमोद खरेलको स्वरमा ‘यो झरीमा तिमीसँगै’, युनिटी ब्यान्डको ‘आशा अझै मरेको छैन’ लगायत अन्य गीतहरू बजारमा ल्याइसकेका छन् भने उनी बहुचर्चित सिनेमा ‘बुलबुल’ का निर्माता पनि हुन् ।समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्वबोध गर्दै थालिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले पनि साथ दिएको छ । गीतकार थापाले सबैलाई उत्प्रेरणा दिने यस गीतलाई आम जनमानसमा पुर्याउन र सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिन सबै व्यक्ति, संस्थाहरू र संचार माध्यमलाई प्रकाशन र प्रसारण गरिदिन अपिल समेत गरेका छन् । गीत युट्युव र संसारभरका लोकप्रिय सबैखाले श्रव्यमाध्यममा उपलब्ध छ ।