सिनेसुत्र, बिराटनगर- सिनेमा ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो। निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो सिनेमा तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ। सिनेमामा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ।
नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो। आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन्। निर्देशक पौडेलकै कथा र सम्पादन रहने सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन्। छायांकन एक सातापछि बाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ। सिनेमामा मन कृष्ण महर्जन डिओपी रहने छ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ। ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ। सिनेमा सामाजिक कथावस्तु पस्किने सन्देशमूलकसँगै मनोरञ्जनप्रधान हुने निर्माण पक्षले जनाएको छ।