सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा सिनेमाको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ। सिनेमाको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन्। अधिकांश दर्शक क्लाइमेक्स दृश्यमा भावुक देखिए।
तर, सिनेमा ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ। सिनेमाको महत्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन्, जसले दर्शकको उत्सुकतालाई कम गराउन सक्छ। टिकटकमा सिनेमाको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ।
सिनेमाका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन्। यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ। ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो सिनेमामा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय छ।
सिनेमाको वर्ड अफ माउथ बलियो भएकाकारण पनि आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास निर्माणपक्षको छ।
