सिनेसुत्र, बिराटनगर- आगामी फागुन २९ गते रिलिज हुने नेपाली सिनेमा ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्ने यात्राको कथा प्रस्तुत गरिएको छ।
काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो। एन्जिला नै यस सिनेमाकी प्रमुख कलाकार हुन्। कार्यक्रममा निर्देशक चाम्सले यो सिनेमामा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको र गैर-कलाकारलाई अभिनय गराउन निकै गाह्रो भएको बताए। चाम्सले अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको खुलासा गरे। उनले दर्शकले सिनेमा हेर्नुअघि धेरै कुरा जानेर आउनुपर्छ भन्ने लागेर ट्रेलरमै केही कुराहरू खुलासा गरिएको बताए।
सिनेमाका निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठले यो सिनेमा फुटबलको भन्दा पनि अञ्जिलाको व्यक्तिगत सङ्घर्षको कथा मुख्य रहेको बताए। अभिनेता दयाहाङ राईले आफू नेपाली खेलकुदको ठुलो प्रशंसक भएको बताउँदै महिला फुटबल टोलीको फ्यान रहेको उल्लेख गरे। “कप्तानको सिनेमा बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ। यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,” उनले भने।
कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरूमध्ये निर्देशक मिलन चाम्स एक रहेको बताइन्। “म मिलन दाइलाई जिन्दगीभर भुल्दिनँ। पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ। मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु। हृदयदेखि नै आभारी छु। मैले कहिल्यै सोचेको थिइनँ कि दयाहाङ राईसँग सिनेमा खेल्छु भनेर। उहाँ जस्तोसुकै अवस्थामा पनि खेलमा समर्पित हुनुहुन्थ्यो,” एन्जिलाले भनिन्।
उनले आफू काठमाडौं आएदेखि गडफादर बनेर बाटो देखाउने प्रेम कुमार श्रेष्ठलाई धन्यवाद दिँदै भनिन्, “म आज जुन बाटोमा छु, उहाँकै कारणले हो। मेरो मात्र नभएर अन्य खेलाडीहरूको सिनेमा पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ।” उनले आफू १३ वर्ष हुँदा ६० किलोको चामलको भारी बोक्ने गरेको स्मरण गर्दै सिनेमा छायाङ्कनका क्रममा खासै अप्ठ्यारो नलागेको जनाइन्।
यस सिनेमामा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। सिनेमाको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। सुदीप बरालले छायाङ्कन गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माताको भूमिकामा छन्। विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।
ट्रेलर हेर्नुहोस :