सिनेसुत्र, बिराटनगर- सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताले नयाँ सिनेमा ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो सिनेमा आगामी साउन २४ गते रिलिज हुनेछ ।
विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रियटिभ निर्देशक मदन थापा हुन् । सिनेमाका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमाको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी निर्माण टिमले गराएको छैन ।

