सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ। आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो सिनेमा नेपाल र नेपाल बाहिर एकै दिन प्रदर्शन हुनेछ।
यो सिनेमामा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन्। आमा र छोराबीचको इमोसनल कथा यस सिनेमामा प्रस्तुत गरिनेछ। सिनेमाको मुख्य थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याइएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो। यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। यस सिनेमाका असोसिएट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन्, जो मुख्य भूमिकामा पनि छन्। पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको यस आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। सिनेमाले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ।
सिनेमामा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), र भिएफएक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन्। २०८२ सालको हरितालिका तीजमा दर्शकमाझ आउने यो सिनेमा वर्षको अन्त्यसम्ममा छायांकनमा जानेछ।
