पहिलो अफ-डेमै राम्रो अकुपेन्सी: ‘लाज शरणम्’ बक्स अफिसमा बलियो

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो सिनेमा चल्यो ।

काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो सिनेमा राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो ।

दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा निर्माणपक्ष विश्वस्त छ । सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन । तर, ‘लाज शरणम्’मा आइतबार पनि उत्साहजनक साथ रहेकाले निर्माण पक्ष सिनेमाको व्यापार पुनः बढ्दै जाने बताउँछ ।महेश त्रिपाठी र धुर्मुसको भूमिकालाई दर्शकले विशेष रूपमा मन पराइरहेका छन् । समसामयिक विषयलाई उठान गरेकाले हेर्नैपर्ने सिनेमा भन्दै दर्शकले तारिफ गरिरहेका छन् । सामाजिक कथासँगै कमेडी पनि भएकाले दर्शकले रुचाएको निर्माणपक्षले दाबी गरिरहेको छ ।

सिनेमाको प्रचारका लागि दर्शक भेट्न कलाकारहरू हलहलमा पुगिरहेका छन् । कलाकारको एउटा टोली काठमाडौंका हलहलमा पुगिरहेको छ भने अर्को टोली पोखरामा छ । वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको थियो ।लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको सिनेमा ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

सिनेमालाई कुमार कट्टेलले निर्देशन गरेका छन् । पहिलो दिन यो सिनेमाले एक करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

सम्बन्धित समाचारसबै