‘जनै हराएको बाहुन’ को लाइनअप बलियो, केकी र मिरुना मुख्य भूमिकामा अनुबन्ध

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जनै हराएको बाहुन’ को लाइनअप दिनप्रतिदिन बलियो बन्दै गएको छ। रिलिज मिति तय गरिसकेको यस सिनेमाले कलाकारहरूको नाम क्रमशः सार्वजनिक गरिरहेको छ।

निर्माण टिमले मुख्य अभिनेत्रीका रूपमा केकी अधिकारी र मिरुना मगर लाई अनुबन्ध गराएको छ। यसअघि नै अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई सिनेमाका लागि निश्चित भइसकेका थिए।

‘जनै हराएको बाहुन’ मा विजय बरालको भूमिकापछि केकी र मिरुना मुख्य भूमिकामा अनुबन्ध भएका हुन्। तर, यी दुई अभिनेत्रीमध्ये विजयको जोडी को हुने भन्नेबारे निर्माण पक्षले अझै खुलासा गरेको छैन।

केही समयअघि सिनेमाको थिम मोसन पोस्टर सार्वजनिक गरिएको थियो। यो सिनेमा आमा र छोराको भावनात्मक सम्बन्ध वरपर केन्द्रित हुनेछ। आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले प्रस्तुत गर्ने संकेत मोसन पोस्टरमै दिइएको थियो।यस सिनेमालाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हुनेछ। साथै, सिनेमाको असोसिएट निर्देशक को रूपमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत रहनेछन्।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। सिनेमाले गाउँबाट सहर आएका एक साधारण व्यक्तिले भोग्ने चुनौतीहरू र तिनले ल्याउने परिवर्तन को कथा भन्नेछ।

आदित्य फिल्मस् निर्माता रहेको सिनेमामा नवीन गुरुङ छायांकारको रूपमा रहेका छन्। साथै, क्रिएटिभ निर्देशक सम्राट महर्जन (ज्याक), र भिएफएक्स सुपरभाइजर मयंक निरौला रहनेछन्।

सिनेमा यो वर्षको अन्त्यसम्ममा छायांकनमा जाने योजना रहेको छ। निर्माण टिमका अनुसार आगामी वर्षको हरितालिका तीज (भदौ १० गते) सिनेमालाई रिलिज गर्ने तयारी छ। नेपालसँगै ओभरसिज मार्केटमा पनि एकै दिन प्रदर्शन गरिनेछ।

सम्बन्धित समाचारसबै