सिनेसुत्र, बिराटनगर- फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘अञ्जिला’ को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ। शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा सिनेमा टिम, सिनेकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरू को उत्साहजनक उपस्थिति रहेको थियो।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो सिनेमा को हङकङ, कोरिया, र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको यो प्रिमियरले दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ। भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले सिनेमाको प्रतीक्षा गरिरहेका थिए।
प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया, र निर्देशक मिलन चाम्स को उपस्थिति थियो। यद्यपि, सिनेमाकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू कार्यव्यस्तताका कारण उपस्थित रहेनन्। तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगर को उपस्थिति उल्लेखनीय थियो।
यस सिनेमामा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङ को प्रमुख अभिनय छ।
सिनेमा हेरेपछि दर्शकहरू भावुक बनेका थिए। हलमा दर्शकहरू रोइरहेका देखिन्थे, विशेष गरी एन्जिलाको संघर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ। दर्शकहरूले सिनेमाको प्रशंसा गर्दै निर्देशक मिलन चाम्स को उत्कृष्ट निर्देशनको सराहना गरे।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ ले सिनेमाले नेपाली खेलाडीहरूको वास्तविक संघर्षलाई चित्रण गरेको बताए। युवा दर्शकहरूले सिनेमा हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको अनुभूति भएको प्रतिक्रिया दिए। बाल कलाकार नमिक्षा मगर ले एन्जिलाको संघर्ष देखेर आफू पनि रोएको बताइन्।
दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ। निर्माता श्रेष्ठ ले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्स ले दर्शकहरू रोँदा आफू पनि भावुक भएको अनुभव सुनाए। चाम्सको यो तेस्रो बायोपिक सिनेमा हो। उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए।
सिनेमाको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँ मा गरिएको छ। सिनेमाको छायाङ्कन सुदीप बराल ले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्ट को ब्यानरमा निर्मित यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्। कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु र राजेश बगडिया सह-निर्माताको रूपमा रहेका छन्। ट्रेलर हेर्नुहोस :