‘१२ गाउँ २’ तत्काल स्थगित: विराज भट्टले साइन गरे नयाँ सिनेमा ‘राम नाम सत्य’

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक सिनेमा साइन गरेका छन्। विराजले सिनेमा ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ सिनेमा ‘राम नाम सत्य’ साइन गरेका हुन्।

सिनेमाका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी सम्झौता भएको छ। सिनेमा ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ। उनलाई सिनेमा अफरको लाइन लागेको छ। तर, विराजले होम प्रोडक्सनको सिनेमाको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ। सिनेमाको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो सिनेमामा काम गर्न तयार भएका हुन्।

म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो सिनेमाको निर्देशन गर्न लागेका हुन्। सिनेमामा कथा पनि उनको नै छ। सिनेमाको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ।सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ। सिनेमामा उत्तम गुरुङ, उपेन्द्र शाही, र स्वेता विमलीको लगानी रहनेछ। नरेन्द्र शाह र सन्तोष अर्याल सिनेमाका कार्यकारी निर्माता हुन्।

यो सिनेमालाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ। निर्देशक चन्दले दर्शकले यो सिनेमामा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए। नायक विराज भट्टले पनि यो सिनेमामा काम गर्न आफू उत्साहित रहेको बताएका छन्।

सिनेमाका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिंदै जाने योजना निर्माणपक्षको छ।

सम्बन्धित समाचारसबै