प्रिमियरमा व्यापक रुचाइएको सिनेमा ‘अञ्जिला’ को अग्रिम टिकट बिक्री सुरु: मल्टिप्लेक्स र सिंगल स्क्रिन हलमा राम्रो शो

0 Shares

सिनेसुत्र, बिराटनगर-  होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली सिनेमा ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ। सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि सिनेमा हलहरू पनि उत्साहित देखिएका छन्। अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य सिनेमाहरूका बाबजुद हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका छन्।

बुधवार बिहानसम्म ११० बढी शो प्राप्त गरेको ‘अञ्जिला’ साँझसम्ममा केही शो बढ्ने अनुमान गरेको निर्देशक मिलन चाम्सले बताए। “प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ,” निर्देशक चाम्सले भने, “शो सङ्ख्या भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो।” ‘अञ्जिला’लाई मल्टिप्लेक्सहरूमा मात्र होइन, सिङ्गल स्क्रिन हलहरूबाट पनि राम्रो शो प्राप्त भएको उनले बताए। रिलिजको दिन फागु पूर्णिमा परेको कारण दिउँसोदेखि मात्र अधिकांश हल चल्ने भएकाले शुक्रवारदेखि शो सङ्ख्या उच्च हुने उनले बताए।सिनेमामा एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् भने अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका छन्। सिनेमाको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो।

निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित सिनेमा निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई सिनेमाले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एञ्जिलाको सङ्घर्षको कथा सिनेमाको पटकथाभन्दा कम नभएको बताए ।

सिनेमाको हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान र नेपालमा धरान र काठमाडौंमा प्रिमियर गरिएको थियो। हलमा प्रदर्शनअघि नै प्रिमियर शोहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ‘अञ्जिला’ले हलमा हेर्ने दर्शकहरूबाट पनि उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ।  ट्रेलर हेर्नुहोस : 

सम्बन्धित समाचारसबै