सिनेसुत्र, बिराटनगर- बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ। प्रदर्शनको पहिलो दिनदेखि नै चर्चा सुरु भएको यो सिनेमा हेर्न नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए। देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’ सामाजिक सञ्जालमा भाइरल भएको छ। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन्। टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले सिनेमाको लोकप्रियतालाई अझ बढाइरहेको छ। यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ भने थानेश्वरले नै सङ्गीत दिएका छन्।
यो सिनेमा हेर्दा दर्शकहरू भाव विह्वल भएका छन्। सिनेमाले स्वतन्त्र समीक्षकहरूको पनि मन जित्न सफल भएको छ। सोसल मिडियाहरूमा सिनेमाका बारेमा आएका समीक्षाहरू सबै सकारात्मक छन् भने, उनीहरूले ‘अञ्जिला’ले नेपाली सिनेमा उद्योगमा नयाँ रेकर्ड राख्न सक्ने सम्भावना जताएका छन्। यस सिनेमाको कथा, निर्देशन, अभिनय र गीत-संगीतलाई व्यापक प्रशंसा मिलिरहेको छ।
सिनेमाको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ। निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए। “सिनेमा निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन। शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु। ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ। पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको भए पनि शनिवारको बम्पर व्यापारले उत्साहित बनाएको छ। सिनेमा हेरेर दर्शकहरू भावुक भएका छन्, र यो सिनेमाले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ,” निर्देशक चाम्सले भने।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ। यस सिनेमामा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। ट्रेलर हेर्नुहोस :