सिनेसुत्र, बिराटनगर- आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको सिनेमा ‘भूठान’ले हरेक शुक्रवार काठमाडौंका चल्तीका चियापसल र रेष्टुरेन्टहरूमा ‘फ्राइडे नाइट विथ ह्याप्पियस्ट म्यान’ क्याम्पेन गर्ने भएको छ।
यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो। यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफ्ना गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्नेछन्। साथै, सिनेमा ‘भूठान’को टिजर र गीतको समीक्षा पनि गर्न सकिनेछ। हरेक हप्ताको कार्यक्रममा एकजना सेलिब्रिटीलाई ह्याप्पियस्ट गेस्ट को रूपमा निमन्त्रणा गरिनेछ।
यो हप्ता कवि एवं सञ्चारकर्मी रुपेश श्रेष्ठ प्रमुख अतिथिको रूपमा अन्तिममा आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्र मार्फत सोही कार्यक्रममै सिनेमा ‘भूठान’को टिकट जित्ने अवसर पाउनेछन्।
सिनेमा का एक निर्माता अविरल थापाका अनुसार, यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नु, सिनेमा बारे गफ गर्दै मनोरञ्जन गर्नु हो। उनका अनुसार, मार्च २० तारिखलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय खुशी दिवस को रूपमा मनाउँदै आएको छ, र सोही अवसर पारेर वैशाख ५ गतेसम्म ‘खुशीको हप्ता’ मनाउने घोषणा गरिएको छ।
सिनेमा ‘भूठान’ विदेशमा रहेका आप्रवासीहरूले आफ्नो घर फर्कन नपाएको कथामा आधारित छ। यसलाई विनोद पौडेल ले निर्देशन गरेका हुन् भने यसमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, रिचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्न को पनि अभिनय रहेको छ। टिजर हेर्नुहोस :