सिनेसुत्र, बिराटनगर- गत हप्ता रिलिज भएको नेपाली सिनेमा ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ। पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो सिनेमा दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ। प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ। दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाले गर्दा नेपालभर शो सङ्ख्या निरन्तर बढिरहेको हो।
सिनेमा को सफलतासँगै विदेशबाट पनि यसको प्रदर्शनका लागि ठुलो माग आएको छ। यसैबीच, ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका छन्।
सिनेमा का निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्स द्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, हालसम्म जापान, कोरिया, क्यानडा, र हङकङ बाहेक अन्य कुनै पनि देशको वितरण तथा प्रदर्शन अधिकार बिक्री गरिएको छैन। सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा सिनेमा रिलिज गर्न लागेको दाबी गरिरहेको पाइएको, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख छ।
निर्माताहरूका अनुसार, अन्य देशहरूको लागि अब आधिकारिक रूपमा वितरण अधिकार दिन सुरु गरिएको छ। इच्छुक वितरक तथा प्रदर्शकहरूलाई आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’लाई लिएर दर्शक तथा समीक्षकहरूले सिनेमा को कथा, प्रस्तुति, अभिनय, र निर्देशनलाई निकै सराहना गरिरहेका छन्। सिनेमा ‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ।
मिलन चाम्सको निर्देशमा बनेको यो सिनेमा लाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन्। यस सिनेमा मा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन्। शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन्। सिनेमा मा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन्। सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन्। साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।


