सिनेसुत्र, बिराटनगर- अभिनेता बिपिन कार्की एक्सन सिनेमा ‘कर्मा’ मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो ।
ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो सिनेमा हुनेछ । ‘कर्मा’ मा विपीन र मुकुन आमनेसामने हुँदा सिनेमा कस्तो हुनेछ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताएका छन् ।
विपीन र मुकुन दुवैले ‘कर्मा’ मार्फत नयाँ अनुभव गर्दैछन् । त्यसैले उनीहरू स्वयंका लागि पनि यो सिनेमा प्रतिक्षित बनेको छ । दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’ मा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । सिनेमामा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ ।
टिजरमा विपीनको एक्सन देखिए पनि मुकुनको एक्सन हेर्न भने बाँकी छ । जुन ट्रेलरमा देखिने निर्देशक चौधरीले बताएका छन् । विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको भनाइ छ । ‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका सिनेमाभन्दा फरक रहेको मुकुनले यसअघि नै बताइसकेका छन् । आइरहेका सिनेमाभन्दा ‘कर्मा’ बिलकुल फरक रहेको उनको भनाइ छ ।
‘कर्मा’ मा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । विपीन र उपासनासँगै ‘कर्मा’ का मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।
निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन सिनेमा ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ । ‘कर्मा’ ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ । शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो । टिजर हेर्नुहोस :